अनेरास्ववियुको राष्ट्रिय सम्मेलन, नेताहरू प्रतिष्ठाको लडाइँमा

फागुन ३, काठमाडौं– एमाले नेताहरूले अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनलाई पार्टीको दशौँ महाधिवेशनसँग जोडेर प्रतिष्ठाको विषय बनाएका छन् ।
अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल खेमाका नेताहरूले अखिलमा जित्न सके पार्टीको आगामी महाधिवेशनमा आफ्नो पक्षले सहजै जित्न सक्ने औपचारिक घोषणा नै गरेका छन् ।

तीन दिन लम्बियो, खर्च बढेर एक करोड

तीन दिनका लागि पूर्वघोषित सम्मेलन कम्तीमा तीनदेखि चार दिन लम्बिने भएको छ । शनिबार सकिनुपर्ने सम्मेलनको आइतबारसम्म निर्वाचन प्रक्रियासमेत अघि बढेको छैन । शनिबार मात्रै दुई सय विवादित प्रतिनिधिको टुंगो  लगाइएको छ । महाधिवेशनको समयावधि कम्तीमा तीन दिन लम्बिँदा खर्च एक करोड नाघ्ने अनेरास्ववियुले जनाएको छ । यसअघि आवास र खानाका लागि कम्तीमा ६० लाख खर्च हुने अनुमान गरिएको थियो ।

एमालेको नवौ महाधिवेशनको झल्को

अध्यक्ष ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल तथा महासचिव ईश्वर पोखरेललगायतका नेता भने दुवै समूहको भेलामा देखिएका छैनन्। तर, पृष्ठभूमिमा चार नेताको संरक्षणमै सम्मेलन लम्बिएको स्रोतको भनाइ छ। पार्टी नेताहरू नवौँ महाधिवेशनकै शैलीमा विद्यार्थीका भेलामा सक्रिय छन्।

अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका सचिव योगेश भट्टराई, पूर्वमहासचिव तथा पार्टी उपमहासचिव घनश्याम भुसाललगायतले दीपक गौतम नेतृत्वको समूह तथा पूर्वअध्यक्ष तथा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल एमालेको महाधिवेशन झल्को दिने गरी नवीना लामाको पक्षमा खटिएका छन्। (नयाँ पत्रिका दैनिकबाट)