संगठित समुहले गरेको मानव अधिकार उल्लंघनप्रति चनाखो रहन प्रधानमन्त्री ओलीको आग्रह

माघ १३, काठमाडौं– प्रधानमन्त्री के.पी शर्मा ओलीले संगठित समुहले नागरिकको मानव अधिकार हनन् गरिरहेकाले त्यसप्रति चनाखो रहन मानव अधिकार आयोगलाई आग्रह गरे ।
आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले पछिल्लो समयमा संगठित दस्ताले असंगठित नागरिकलाई धम्क्याउने,लुट्ने र हत्या गर्ने क्रम पनि बढेकोले यसप्रति गम्भिर हुन आयोगको ध्यान आकर्षण गराए । प्रधानमन्त्री ओलीले  भने – ‘संगठित गिरोहबाट असंगठित नागरिकका मानवअधिकार हनन् बढेका छन् । त्यसलाई रोक्नु पर्यो  । ’
मानवअधिकार आयोगलाई निर्धक्क भएर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले बिभिन्न घटनाहरु निष्पक्ष छानविनमा सरकार बाधक नहुने बताए । ‘गैह्र राज्य पक्षबाट असुरक्षा महसुस भए भन्नुस तपाँइहरुको सुरक्षामा सरकार गम्भिर छ’, उनले आयोग पनि राज्यकै अंग भएकोले यसले वस्तुनिष्ठ प्रतिवेदन बनाउनुपर्नेमा जोड दिए ।
आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीले मधेसमा जारी आन्दोलनले नागरिकको जनजीवन कष्टकर भएको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले ५१ बर्ष देखि आफू मानवअधिकार वहालीका लागि संघर्ष गर्दै आएकोले आफ्नो पालामा मानव अधिकार रक्षाको लागि गम्भिर रहेको बताए ।