नाकाबन्दी आन्दोलनमा पुनर्विचार हुन्छः अध्यक्ष यादव

माघ १३, काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले मोर्चाको नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुने बताएका छन् ।
एक साक्षात्कारमा उनले भने, ‘नाकाबन्दी भएको लामो समय भइसक्यो । यसले जनजीवन कष्टकर भइसक्यौ ।  आन्दोलन लामो भइसकेकोले अब स्वरुप परिवर्तन गर्नुपर्छ । दुई चार तीन दिनमा बस्ने मोर्चाको बैठकले माघ १८ गते पछिको आन्दोलनको कार्यक्रममा पुनर्विचार गर्ने सम्भावना छ । यसरी आन्दोलन गरेर भएन अब नयाँ ढंगले शसक्त बनाउनुपर्छ ।’
यादवले अबको आन्दोलन तराईमात्रै केन्द्रीत नभई पहाड र हिमालसम्म पुर्याएर राष्ट्रिय एकता कायम गर्ने दावी गर्दै आफूहरुले चलाएको अहिंसात्मक आन्दोलन असफल भए देश अर्को कोर्षमा जाने र त्यो बेला आन्दोलन आफूहरुको हातमा नरहने चेतावनी दिए ।
उनले बाहिर चर्चा भए जस्तो मधेस आन्दोलनको लागि महागठबन्धन निर्माणको योजना नरहेको स्पष्ट पार्दै भने,‘ मधेसमा नौ दलको गठबन्धन छदैछ त्यसमा अरु दललाई ल्याएर विस्तार गरे हुन्छ । महागठबन्धन निर्माणको आवश्यकता छैन ।’
नेपाल भारत सम्बन्धको चर्चा गर्दै उनले काठमाडौको सत्ता दिल्लीको समर्थनमा टिकिरहन र भारत पनि यहाँको सत्तालाई कज्याईरहन चाहने चरित्रको भएको भन्दै जनतावीचमा त्यसखाले सम्बन्ध भने नभएको तर्क गरे ।
उनले अहिलेको सत्ताले सत्ता टिकाउन अन्धोराष्ट्रबादलाई अगाडि बढाईरहेको भन्दै यसले कसैको पनि हित नगर्ने ठोकुवा गरे ।