भूकम्प पीडितको अनुदानको चामल बिक्रीसम्बन्धमा आयोगको ध्यानाकर्षण

माघ ५, काठमाडौँ–भूकम्प पीडितहरूका लागि आएको अनुदानको चामल बिक्री गर्न निर्देशन दिएको भनी विभिन्न सञ्चार माध्ययममा सार्वजनिक समाचारको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूसँग  विस्तृत विवरण माग गर्दै पत्राचार गरेको छ ।
यथाशीघ्र विवरण उपलब्ध गराउन भनिएको सो पत्रमा, प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो कार्यबाट एकातर्फ पीडितहरू राहत पाउनबाट बञ्चित हुने र अर्कोतर्फ दाताहरूको दृष्टिकोणमा समेत नकारात्मक असर पर्नसक्ने भएकोले त्यसतर्फ ध्यान पुर्याउन आवश्यक भएको उल्लेख छ ।
आयोगको निरन्तर अनुगमनबाट अझैपनि भूकम्प पीडितहरू खाद्यान्नको अभावमा कठिन रुपमा जीवन निर्वाह गरिरहेको देखिएको छ । अतः विनासकारी भुकम्पबाट पीडित नागरिकहरुको लागि विभिन्न दातृ निकायहरुले उपलब्ध गराएको चामल, नुन, तेल लगायतका खाद्य सामग्रीहरू बिक्रि भन्दापनि सम्बन्धित पीडितहरूले व्यवस्थित रुपमा समयमा नै प्राप्त गर्न सक्ने व्यवस्था मिलाई पीडितहरूको अधिकार संरक्षण गर्न आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।