भूकम्पले क्षति पुर्याएका घरहरुको तथ्याङ्क लिन सुरु

माघ ४, काठमाडौँ–  केन्द्रीय तथ्याङ्क विभागले गत वैशाखमा भूकम्पले क्षति पुर्याएका जिल्लाका घरहरुको क्षति विवरण लिन सुरु गरेको छ ।
विभागका सूचना अधिकृत प्रमोदराज रेग्मीका अनुसार विभागले भूकम्पले क्षति पुर्याएका केही जिल्लामा क्षतिको विवरण सङ्कलन गर्न इन्जिनियर खटाइसकेको छ ।
अर्को हप्तादेखि भूकम्पले बढी क्षति पुर्याएको दोलखा जिल्लामा क्षतिको विवरण लिन सुरु गरिने उनले बताए । यसैगरी भूकम्प प्रभावित १४ जिल्लामा समेत घरहरुको क्षतिसम्बन्धी विवरण लिइनेछ ।
सम्बन्धित जिल्लाका प्राकृतिक विपद् उद्धार समितिले भूकम्पपीडितलाई परिचयपत्र वितरण गरेपनि दातृ निकाय र सरकारले उनीहरुको घर क्षति भएकोसम्बन्धमा पुनः जानकारी लिन चाहेकाले प्राविधिक खटाएर क्षति विवरण लिन लागिएको हो–अधिकृत रेग्मीले भने ।
‘यो पूर्ण रुपमा नयाँ विवरण हुनेछ’, उनले भने –‘पूर्ण क्षति पुगेका घर, आशिंक क्षति पुगेका घर र सामान्य क्षति भएका घरहरुको पूर्ण विवरण लिइनेछ ।’
उक्त विवरण काठमाडौँ, ललितपुर, भक्तपुरसहित दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, गोरखा, धादिङ् र मकवानपुरमा लिइनेछ ।