नेपालले श्रीलङ्कालाई हरायो

काठमाडौं –बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत बुधवार भएको खेलमा नेपाल श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ।
बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको हो ।
जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

नेपालले जारी प्रतियोगितामा ४ अङ्क जोडेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा बराबरी खेलेको थियो । नेपालले साविक विजेता मलेसियासँग गोलरहित बराबरी खेलेको थियो ।

त्यस्तै, नेपालले यसअघि भारतमा भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा श्रीलङ्कासँग भोगेको हारको बदलासमेत लिएको छ । त्यतिबेला नेपाल श्रीलङ्कासँग समान गोलअन्तरले पराजित भएको थियो ।

नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेल सुरुवातीको दोस्रो मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । नेपालले अब आफ्नो तेस्रो खेल आगामी माघ १ गते बङ्गलादेशसँग खेल्नेछ।