कांग्रेसको १ वर्षको आम्दानी ९ करोड

पुस ३०, काठमाडौं – व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पछिल्लो आर्थिक वर्षमा झन्डै नौ करोड आम्दानी गरेको छ । निर्वाचन आयोगमा कांग्रेसले बुधबार बुझाएको आर्थिक वर्ष २०७१–७२ को आम्दानी र खर्च विवरणअनुसार ८ करोड ५४ लाख १३ हजार ५ सय ८५ रुपैयाँ ३६ पैसा आम्दानी देखाएको हो ।

कांग्रेसले अघिल्लो आर्थिक वर्षमा ३ करोड ९ लाख १२ हजार ८ सय ६६ रुपैयाँ ६० पैसा आम्दानी देखाएको थियो । जुन गत वर्षभन्दा ५ करोड ४५ लाख ७ सय ११ रुपैयाँ बढी छ ।
पुस २४को मितिमा सभापति सुशील कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, मुख्यसचिव ऋषिकेश तिवारी, वरिष्ठ लेखापाल रविन बज्राचार्य र चार्टड एकाउन्टेन्ट अंकुश कुमालद्वारा बुझाइएको प्रतिवेदनमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई आम्दानीको मुख्य स्रोत देखाइएको छ ।(नागरिक दैनिकबाट)