बङ्गबन्धु कपका लागि नेपाली टोलीको नाम सार्वजनिक

पुस २१, काठमाडौँ–अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गलादेशको ढाकामा जनवरीमा हुन लागेको बङ्गबन्धु गोल्ड कप खेल्ने नेपाली टोलीको नाम आज सार्वजनिक गरेको छ ।
२३ सदस्यीय टोलीमा तीन गोलकिपर, सात डिफेन्डर, नौ मिडफिल्डर र चार स्ट्राइकर छन् । गोलकिपरमा एलान न्यौपाने, अमृत चौधरी र विकास कुथु छन् भने डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, रविन श्रेष्ठ र मनबहादुर तामाङ समावेश छन् ।
त्यस्तै मिडफिल्डरमा अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, जङ्बु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल र तेज तामाङ परेका छन् भने स्ट्राइकरको जिम्मेवारी विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामाले पाएका छन् ।
टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन, गोलकिपङ प्रशिक्षकमा उपेन्द्रमान सिंह तथा व्यवस्थापकमा विराटजङ्ग शाहीलाई छनोट गरेको एन्फाले जनाएको छ ।
नेपालको समूहमा मलेसिया, आयोजक बङ्गलादेश र श्रीलङ्का समावेश छन् । नेपालले आफ्नो पहिलो खेल जनवरी ९ मा मलेसियासँग खेल्ने छन् ।