देश विकासका लागि राजनीतिक स्थायित्व जरुरी

२१ पुस, बैतडी– नेपाली काँगे्रसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले समग्र नेपालको विकासका लागि राजनीतिक स्थायित्व जरुरी रहेको बताएका छन् ।

गृह जिल्ला दार्चुलाबाट राजधानी फर्कने क्रममा नेपाली काँगे्रस बैतडीले गरेको चियापान कार्यक्रममा प्रवक्ता बडूले समग्र मुलुकको विकासका लागि राजनीतिक स्थायित्व जरुरी भन्दै त्यसका लागि मधेस आन्दोलनको समस्या समाधान हुनुपर्ने बताए ।
मधेसको आन्दोलन र अन्य विषय पनि वार्ता र संवादबाट मात्रै टुङ्गिन्छ उनले भने, “आफूहरू वार्ताको टेबुलमा बस्न तयार छौँ ।”
उनले नेपाली काँगे्रस प्र्रतिपक्षी भए पनि आफूहरू वार्ताको टेबुलमा नै भएकाले मधेसी दललाई पनि वार्ताको टेबुलमा आई निकास खोज्न जरुरी रहेको धारणा व्यक्त गरे ।
निर्माणाधीन चमेलिया, पश्चिम सेतीलगायतका आयोजनालाई पूर्णताः दिन पनि राजनीतिक स्थायित्व जरुरी भएकाले यसमा आफूहरू प्रयत्नशील रहेकोसमेत बताए  ।