संगीतकार गुरुङलाई उपचारका लागि रु ३० हजार

पुस २१, काठमाडौँ–सरकारले संगीतकार अम्बर गुरुङलाई स्वास्थ्य उपचारका लागि मासिक रु ३० हजारसहित सम्मान गरेको छ ।
बूढानिलकण्ठस्थित सङ्गीतकार गुरुङको निवासमा पुगी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले संगीतकार गुरुङलाई सम्मान गर्दै मासिक उपचार खर्चबापत रु ३० हजार हस्तान्तरण गरे ।
संगीतको माध्यमबाट देशका लागि गरिएको अतुलनीय योगदानको कदर गर्दै राज्यले उनलाई उपचार खर्चबापत मासिक रु ३० हजार प्रदान गरेको मन्त्री पोखरेलले बताए ।
संगीतकार गुरुङलाई उपचारका लागि आजीवन मासिक रु ३० हजार दिने र उक्त रकम नेपाल सङ्गीत नाट्य प्रतिष्ठानमार्फत लिन सकिने बताइएको छ ।
७८ वर्षीय संगीतकार गुरुङ केही वर्षदेखि नसासम्बन्धी समस्याबाट पीडित छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपतिसमेत रहेका संगीतकार गुरुङको माहिला छोरा राजुु गुरुङले पछिल्लो समयमा नसासम्बन्धीका साथै मधुमेह र उच्च रक्तचापको समस्या पनि बढ्दै गएको हुनाले अस्पतालमा लाग्ने थप खर्चका लागि सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।