नक्कली डाक्टर बनी ठगी गर्ने युवती पक्राउ

२१ पुस, काठमाडौँ– काठमाडौँ, पोखरालगायतका विभिन्न स्थानमा डाक्टर तथा डिआइजीको छोरी हुँ भन्दै ठगी गर्दै हिँडेकी भगवती केसीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

गुल्मी, हस्तिचौर–९ की २३ वर्षीया केसीले चिकित्सक सुहाना, अदिती, सृष्टीलगायतका नक्कली नामको प्रयोग गरी विभिन्न कलाकर्मी, युवा तथा होटल व्यवसायीलाई ठगी गर्दै आएको आरोपमा महाशाखाको टोलीले उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरेको हो ।
उनले ठगी गर्नका लागि डाक्टर सुहाना केसीको नाममा नक्कली आइडी, फेक भाइबर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिका कागजपत्र र फोटो राखी नेपाल टेलिकम र एनसेलका सिमको प्रयोग गर्ने गरेको, विभिन्न होटलमा गई म डिआइजी सनत केसीको छोरी हुँ भनी परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको र विभिन्न व्यक्तिलाई म डिआइजी हुँ मेरो छोरीको रेखदेख गरिदिनु भनी फोन गर्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

अभियुक्त केसीले एक वर्षअघि पोखराका विभिन्न अस्पतालमा चिकित्सक बनेर बिरामीको जाँच गरेको बहाना बनाउनुका साथै डाक्टरसँग समेत विवाह गर्ने भन्दै सँगै बसी ठगी गर्दै आएको र सोबारे पोखराको स्थानीय पत्रिकाले समाचार प्रकाशन गरेपछि उनी काठमाडौँ छिरेको प्रहरीले बताएको छ ।

काठमाडौँ आएपछि पनि उनले विभिन्न डाक्टर, युवक तथा होटलमा ठग्दै आएको बुझिइएको छ ।