पहिले चीन की भारत?

पुस १६, काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रमुखको रुपमा पहिलो विदेश भ्रमण दुई ठूला छिमेकी ‘भारत’ वा ‘चीन’ मध्ये कस्को गर्ने भन्ने अड्कलवाजी चलिरहेका बेला भारतीय राजदूत रणजित रायले उनको भारत भ्रमण तत्काल नहुने संकेत गरेका छन्।

परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि मात्र चीन जाने बताएको भोलिपल्टै उनले भ्रमणको धेरै तयारी गर्न बाँकी रहेको बताएका हुन्।‘प्रधानमन्त्री ओली ज्युको भ्रमणको सधै स्वागत गर्छौं। हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई र भ्रमणको निमन्त्रणा दिनु भएको हो,’ बुधबार काठमाडौंस्थित भारतीय दूतावासभित्रै आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओली ज्यू तत्काल भारत भ्रमणमा जान लाग्नु भएको हो भनि सोधिएको प्रश्नमा राजदूत रायले भने, ‘यस्तो उच्चस्तरीय भ्रमणका बेला धेरै विषयमा कुराकानी गर्नुपर्ने हुन्छ। भ्रमण अघि त्यस्ता महत्वपूर्ण विषयहरुमा तयारी गर्न आवश्यक छ।’

प्रधानमन्त्री ओलीले आइतबार २०७२ साल भित्रै भारत र चीन दुवै देशको प्रधानमन्त्रीका रुपमा भ्रमण गर्ने दाबी गरेका थिए। त्यति मात्र होइन उनले दुवै ठूला छिमेकीसँग नेपालले मित्रता चाहेको बताउँदै चीन र भारत मध्ये कुनको पहिलो भ्रमण गर्ने भन्ने कुनै नियम नभएको स्पष्ट पारेका थिए। पहिला भारत भ्रमण हुन नसके चीन जान आफू नरोकिने उनले प्रष्ट बताएका थिए।

ओलीले आफू छिट्टै चीन जाने संकेत गरेको तीन दिन बित्न नपाउँदै चीनबाटै फर्कदै गर्दा मंगलबार परराष्ट्रमन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले प्रधानमन्त्रीलाई भ्रमणको निम्तो पठाएको बताए। थापाले आफ्नो भ्रमणको बेला हुन नसकेका सम्झौता छिट्टै हुने प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला हुने विश्वास समेत व्यक्त गरे।
चीनबाट स्वदेश फर्केकै साँझ मंगलबार परराष्ट्रमन्त्री थापाले बिबिसी नेपाली सेवालाई अर्न्तवार्ता दिने क्रममा अर्को दाबी गरे, ‘भारतको पहिले नै निमन्त्रणा आइसकेको थियो। अहिले चीनले पनि निमन्त्रणा गरेको छ। भारत भ्रमणको गृहकार्य सुरु भइसकेको छ। पहिला भारत जानुहुन्छ, त्यसपछि चीनको भ्रमण गर्ने सम्भावना देख्छु।’

नेपालको प्रधानमन्त्रीलाई स्वागत गर्न र आफ्नो राष्ट्रपति वा प्रधानमन्त्री मध्ये एकलाई नेपाल पठाउन तयारी अवस्थामा रहेको चीनले जनाउँ दिईसकेको छ। परराष्ट्रमन्त्री थापा र चिनियाँ विदेशमन्त्री वाङ वी बीच भएको द्विपक्षिय बैठकमा चीनले मौखिक रुपमा प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो दिएको थियो। प्रधानमन्त्री ओलीको चीन भ्रमणका आधार भनेको यही हो।