सिँचाइ मन्त्री उमेश यादव भन्छन्, ‘कुर्सी फालेको दिन जीवनमै सबैभन्दा धेरै बधाइ पाएँ’

पुस १६ काठमाडौँ–२०७१ साल माघ ५ गते संविधानका विवादित विषयको प्रश्नावली तयार गर्न समिति गठन गर्न मध्यरातमा संविधानसभा बैठक बस्यो । दिनभरजसो छलफलपछि बसेको बैठक सुरु नहुँदै रोकियो ।

त्यसको कारण थियो– तत्कालीन विपक्षी मोर्चा एमाओवादीलगायत दलको विरोध । त्यही बैठकमा एमाओवादी सभासद् उमेश यादवले संविधानसभाकै कुर्सी उठाएर बजारे । त्यसको सामाजिक सञ्जालमा व्यापक विरोध भयो ।

अहिले तिनै यादव सिचाइमन्त्री छन् । त्यसरी कुर्सी उठाएर फालेकोमा यादवलाई भने कुनै पछुतो लाग्दैन । उनी त्यतिबेला गरेको ते काम परिस्थितिअनुसार ठीक भएको दाबी गर्छन् । ‘त्यसवेलाको परिस्थितिमा त्यो ठीक कदम थियो । त्यो वास्तवमा विभेद र उत्पीडनविरुद्धको आक्रोश थियो,’ उनी भन्छन् ।

हाल सिँचाइ मन्त्री रहेका यादव घटना नभएको भए नयाँ संविधानको आधार बनेको १६ बुँदे सहमति नहुने बताउँछन् ।
यादव उक्त घटनापछि जीवनमै सबैभन्दा बढी बधाइ पाएको बताउँछन् । ‘त्यो घटनाप्रति मलाई आज पनि गर्व लाग्छ । त्यो घटनापछि चुनाव जित्दाभन्दा बढी बधाई पाएँ । अहिले मन्त्री बनेपछि जति बधाई पाएँ त्योभन्दा कम थिएन त्यसवेलाको बधाई ।

यसरी बधाई दिनेमा मेरो जिल्लादेखि देशबाहिरसम्मका नेपाली दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्थ्यो । विदेशबाट चाहिँ विभिन्न देशमा छरिएर रहेका पूर्वजनमुक्ति सेनाका सदस्य साथीहरू हुनुहुन्थ्यो,’ सिंचाइमन्त्री यादवले भने ।