इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद उलल जोहा) आज मनाइँदै

असोज ८, काठमाडौं – इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद उलल जोहा) आज मनाइँदैछ । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।

आज बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्ने मुस्लीमहरुले बताएका छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । बकर इद तीन दिनसम्म मनाइन्छ । बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले इस्लाम धर्मावलम्बीको महान पर्व बकर इद (इद–उल–जोहा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।