सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले नाका क्षेत्रमा कडाइ गरेपछि इन्धन आपूर्तिमा समस्या

असोज ८, काठमाडौं – सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले नाका क्षेत्रमा कडाइ गरेपछि इन्धन आपूर्ति हुन सकेको छैन । हिजोदेखि इन्धनको आपूर्ति ठप्प हुँदा वितरणमा समस्या भएको छ ।

नेपाल आयल निगमका अनुसार भारतीय पक्षको असहयोगका कारण इन्धन आपूर्ति हुन नसकेको हो । पछिल्लो २र३ दिनयता बजारमा इन्धनको माग धेरै बढेकाले थेग्न मुस्किल भएको निगमले जनाएको छ । तराईका जिल्लामा लगातार भैरहेको बन्दका कारण प्रहरीको सुरक्षामा इन्धन ल्याइए पनि मागअनुसार नपुग्दा निगमले स्टकबाटै डिपोमा पठाउने गरेको थियो । आयात ठप्प हुँदा निगमले स्टकमा भएको इन्धन नै वितरण गरिरहेको छ ।
माग बढ्दै गएकाले स्टकले धेरै दिन धान्न नसक्ने निगमका प्रवक्ता दीपक बरालले बताउनुभयो । स्टक घट्दै गएकाले अनावश्यक रुपमा इन्धनको जोहो नगर्न उहाँको आग्रह छ । सकेसम्म सार्वजनिक गाडी चढ्न निगमको आग्रह छ ।
यसैविच हेटौडाबाट पेट्रोलियम पदार्थ लिनका लागि भारतको रक्सौल नाकासम्म पुगेका झण्डै दुईसय ट्यांकरहरु तेल नलिईकन त्यसै फर्कन बाध्य भएका छन् ।
तेल लिनका लागि भारत र नेपालको सीमा नाका पुगेका ट्यांकरहरु सरकारले सुरक्षा दिन नसकेको भन्दै खाली फर्केका हुन् । राती स्कटीङमा बोडरसम्म पुगेका एक सय ३० वटा ट्यांकर तेल नलिईकन फर्कन बाध्य भएको मध्यमाञ्चल ढुवानी व्यबसायी संघका सचिव उत्सव इटेनीले बताउनुभयो ।
यसैविच पूर्वी तराईमा भइरहेको निरन्तरको बन्दका कारण आयात ठप्प भएपछि तेह्रथुमका बजारहरुमा एक साता यता खाने नुनकै अभाव भएको छ ।
सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, बसन्तपुर लगायतका बजारमा नुनको अभाव भएको छ । बन्दले आयात ठप्प हुँदा स्टकमा रहेका नुन लगायतका खाद्यबस्तु सकिदै गएको व्यापारीेले बताएका छन् । पछिल्लो पटक छिमेकी राष्ट्र भारतले सीमामा आयात ठप्प पार्ने हल्ला चलेपछि अतिआवश्क बस्तु व्यापारीहरुले लुकाउन थालेकाले बजारमा अभाव भएको उपभोक्ताको गुनासो छ ।