साउदी अरेबियाका राजा सलमानले हज यात्रीको सुरक्षास्थित पुनरावलोकन गर्न निर्देशन

असोज ८, काठमाडौं – साउदी अरेबियाका राजा सलमानले हज यात्रीको सुरक्षास्थित पुनरावलोकन गर्न निर्देशन दिएका छन् ।

मक्कास्थित तीर्थस्थल नजिकै बिहीबार भएको भागदौडमा ७१७ जनाको मृत्यु भएपछि राजा सलमानले तीर्थयात्रामा गरिएको सुरक्षाव्यवस्थाको पुनरावलोकन गर्न निर्देशन दिएका हुन् ।
उनले एक टेलिभिजनमार्फत तीर्थयात्रीहरुको आवागमन र व्यवस्थापनमा सुधारको खाँचोसमेत औंल्याए । उनले भने, ‘यो निकै त्रासदीपूर्ण दुर्घटना हो, मैले सम्बन्धित संस्थालाई यस दुर्घटनाका बारेमा छानविन गर्न र चाँडोभन्दा चाँडो मलाई नतिजा जानकारी दिन भनेको छु ।’
इरानले तीर्थयात्राका क्रममा साउदी अरेबियाले तीर्थयात्रीको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न नसकेको भन्दै आलोचना गरिरहेको समयमा साउदी राजाको यस्तो भनाई सार्वजनिक भएको हो । उनले भागदौडमा मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।