राष्ट्रपतिद्वारा ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा

असोज ३ , काठमाडौं – राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गर्नु भएको छ ।  संविधानमा हस्ताक्षर गरी राष्ट्रपति यादबले संविधान जारी भएको घोषणा गर्नु भएको हो ।

संबिधानको घोषणा गर्दै राष्ट्रपति यादबले सम्पूर्ण नेपाली जनतालाई बधाई दिनु भएको छ । नयाँ संविधान घोषणा भएसंगै आजैका मितिदेखि अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ । संविधानको घोषणा गरेपछि राष्ट्रपतिलाई संविधानसभाले धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला र प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवम् संविधानसभाका सदस्यहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराईलगायत संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

समारोहमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, वामदेव गौतम, मन्त्रीगण, पूर्व सभासद्हरु, नेपाल सरकारका उच्च अधिकारीहरु, नागरिक समाजका अगुवाहरु, उद्योगी व्यवसायी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु एवम् वरिष्ठ सञ्चारकर्मीलगायतको समारोहमा बाक्लो उपस्थिति थियो । संविधान घोषणा समारोह अपराह्न ५ बजे आयोजना गरिएको थियो ।