नयाँ संविधान आज जारी हुँदै

असोज ३ , काठमाडौं – आफ्नो लागि आफैं संविधान बनाउने नेपाली नागरिकको वर्षौंदेखिको सपना आज पुरा हुँदैछ । संविधानसभाले पारित गरेको र सभासदको हस्ताक्षर सहित सभाध्यक्ष सुवासचन्द्र  नेम्वाङले प्रमाणित गर्नुभएको संविधान आइतबार साँझ ५ बजे विशेष समारोहको आयोजना गरेर सार्वजनिक गरिदैंछ । समारोहमा राष्ट्रपति डा. यादवले नेपालको संविधान जारी भएको घोषणा गर्नुहुनेछ । समारोहलाई भव्य बनाउन सचिवालयले संविधानसभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ भने विभिन्न रङका बत्तीले सजाइएको छ ।
नेपालको झण्डा लहरै भवनको अघिल्लो लहरमा फहराइएको छ भने ध्वजापतकाले भवनलाई चिटिक्क बनाइएको छ । आइत्बार हुने समारोहको लागि शनिबार पूर्वअभ्इास पनि गरिएको छ । सुरक्षाको पाटोलाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको तैनाथी गरिएको छ । संविधान घोषणा समारोहलाई व्यवस्थित बनाउन सबै तयारी पूरा भएको सभाध्यक्ष नेम्बाङले जानकारी दिनुभयो । विशेष समारोहमा सहभागी हुने विशिष्ठ पाहुनाका लागि विशेष प्रवेश पासको व्यवस्था गरिएको छ । पूर्व सभासद् तथा अति विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ ।
नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका अगुवा, वरिष्ठ सञ्चारकर्मी, उद्योगी तथा व्यवसायीलाई निमन्त्रणा गरिएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हजार पाँच  सय भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ । पहिलोपटक नागरिकका प्रतिनिधिले बनाएको संविधानको घोषणा सभालाई बढीभन्दा बढी भव्य र सभ्य बनाउन सबै प्रकारको तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।