प्रम कोइरालासंग भारतीय प्रम मोदीका विशेष दूत एस जयशंकरको भेट

असोज १ ,काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालासंग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतको रुपमा नेपाल आउनु भएका भारतका विदेश सचिव एस.जयशंकरले शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ ।
भेटमा दुइदेशको बीचको आपसी सुसम्बन्ध,नेपालले नयाँ संविधानको  निर्माणमा प्राप्त गरेको सफलता,नेपालमा दिगो शान्ति, स्थायित्व र दू््रत विकासका सम्बन्धमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपालको सबैभन्दा निकटको मित्र भारतले नेपालमा संविधान निर्माणमा भएको उपलब्धिलाई उच्च महत्व दिएर विशेष दूत खटाएकोमा त्यसको सराहना गर्दै नेपाल र भारत सुख–दुःखका सहयात्री भएको उल्लेख गर्नुभएको थियो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको दुइपटक भ्रमण गरी नेपालसंगको मित्रतालाई उच्च महत्व दिनुभएको उल्लेख गर्नुभयो । उहाँले नेपाल भारतवीचको युगौ पुरानो सम्बन्ध अझ कसिलो र गहिरो भएको पनि बताउनु भयो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको क्रममा आफूले वार्ता,सहमति,सहकार्य,एकता र मेलमिलापलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभएको थियो । संघीयता,गणतन्त्र,समानुपातिक समावेशीता जस्ता विशेषताले युक्त संविधानको प्रारम्भिक मस्यौदा जनतामा लगेर बृहत् परामर्शका आधारमा संविधानको निर्माणलाई टुंगोमा पु¥याएको पनि बताउनु भयो ।
संविधान निर्माणको पछिल्लो चरणमा वार्ता र संवादका लागि सरकार र पार्टीहरुको तर्फबाट संयुक्त प्रयास गर्दा पनि केही राजनीतिक दलहरु संवादको प्रक्रियामा समावेश नभएकोले अधिकतम् बहुमतको आधारमा संविधान निर्माणका प्रक्रिया अगाडि बढाउनु पर्ने अवस्था सिर्जना भएको पनि उहाँले उल्लेख गर्नुभएको थियो ।
भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत तथा भारतका विदेश सचिव एस. जयशंकरले  भारतका प्रधानमन्त्री मोदीले नेपालसंगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा दिगो शान्ति, राजनीतिक स्थिरता र विकास होस् भन्ने भारतीय प्रधानमन्त्री मोदीको चाहना रहेको उल्लेख गर्दै नयाँ संविधान त्यसको आधार बन्नु पर्ने बताउनु भयो । उहाँले संविधानमा सबै नेपालीले अपनत्व रहेको महसूस गर्नुपर्ने पनि बताउनु भयो । उहाँले नेपाल र भारतका बीचमा खुला सीमानाको अनुपम सम्बन्ध पनि रहेकोले कतैपट्टि हुने अशान्तिले एकर्कालाई असर गर्ने पनि बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको संविधानसभामा विभिन्न राजनीतिक आस्था र विचार भएका राजनीतिक दलहरुको उपस्थिति रहेकोले यो संझौताको दस्तावेजको रुपमा आएको उल्लेख गर्नुभयो, यसमा सबै राजनीतिक दल र नेपाली जनताको भावनालाई समेटिएको छ तर कुनै पनि पार्टीका  सबै कुरा अटाएका छैनन् ।
प्रधानमन्त्री कोइरालाले सरकार र सबै राजनीतिक दलहरु शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान नहुने कुनै पनि समस्या छैन भन्ने मान्यतामा विश्वास गर्ने भएकोले संवादको प्रक्रिया निरन्तर चालु राखिएको पनि बताउनु भयो । उहाँले राजनीतिक दलहरु वार्तामा सक्रिय रहेको पनि उल्लेख गर्नुभयो ।
भेटमा प्रधानमन्त्रीका परराष्ट््र सल्लाहकार डा.दिनेश भट्टराई, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला र नेपालका लागि भारतका राजदूत रञ्जित रे को पनि उपस्थिति रहेको थियो ।