प्रचण्डले खोले मधेसी नेताहरुको पोल

भदौ ३० , काठमाडौं – एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो संविधानसभाले किन संविधान दिन सकेन र हाल मधेसीहरु आन्दोलनमा हुँदा पनि कसरी संविधान जारी हुँदैछ भन्ने विषयमा सनसनीपूर्ण खुलासा गरेका छन् ।

‘अघिल्लो संविधानसमा ११ प्रदेशको सहमति भएको थियो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा पनि कुरा मिलेकै थियो । त्यसबेला म विवाद समाधान उपसमितिको संयोजक थिएँ । मधेसका नेता साथीहरुलाई ११ प्रदेशको सहमत गराएर स्टेटमेन्ट तयारा पारेँ । तर मधेसका साथीहरुले हामी सही गर्न सक्दैनौं भनेर अन्तिममा भनिदिए ।

अनि पार्टीभित्र अति क्रान्तिकारी देखिनु पर्ने वैद्यजी, विप्लवजीजस्ता साथीहरुले तिनैको अफिसमा गएर ‘तपाईहरुले हामीलाई बचाउनुभयो , हाम्रा नेताले विश्वासघात गरे, धोका दिए’ भनेका अहिले मेरो दिमागमा ताजा भएर आएको छ । हेर्छु, अहिले तिनै मान्छेहरु पनि संविधान निर्माण हुन नदिनेमा छन् ।

प्रादेशिक सीमांकनमा सवभन्दा बढी पाएको मधेसले नै हो । लिम्बुहरुले लिम्बुवान पाएनन्, किराँतहरुले किराँत पाएनन्, तामसालिङ पनि भएन । तर, सप्तरीदेखि पर्सासम्म पहिचानको आधारमा झन्डै ४५ लाख जनसंख्या भएको सारा, उद्योग, कलकारखाना भएको भूभाग उहाँहरुले पाउनु भएको छ । अरुले त त्यस्तो केही पनि पाएका छैनन् ।’ जनआस्था