हिन्दु महिलाले आज हरितालिका तीज मनाउँदै,पशुपतिमा बिहानैदेखि व्रतालुको भीड

भदौ ३० , काठमाडौं – नेपाली हिन्दु महिलाले आज हरितालिका तीज विशेष उल्लासका साथ मनाउँदैछन् । देवाधिदेव महादेवको पूजा अर्चना र व्रत बस्दै महिलाहरुले हरितालिका तीज मनाउँदैछन् । निराहार बसी महिलाहरु बिहानैदेखि शिवालयमा पुगेका छन् । महिलाहरू सबेरै स्नान गरी शुद्ध वस्त्र पहिरेर पूजा सामग्री तयार पार्छन् । त्यसपछि पशुपतिनाथ लगायत शिव मन्दिरमा गई शिव–पार्वतीको पूर्जाअर्चना गर्ने चलन छ ।
तीज अवधिभर महिलाहरू रातो पहिरनमा सजिने गर्छन । पशुपतिक्षेत्र विकास कोषले तीजको तयारी पूरा गरेको छ भने बिहानैदेखि त्यहाँ पुजापाठ सुरु भएको छ । कोषले दर्शनका लागि पाँच लाखभन्दा बढी भक्तजनका लागि पाशुपत क्षेत्रमा तयारी गरेको हो ।
कोषले सरदर एक घन्टाभित्र पशुपतिनाथ मन्दिरमा दर्शन गराउने लक्ष्य राखेको छ । कोषले दर्शनका लागि भक्तजनलाई चारवटा लाइनको व्यवस्था गरेको छ । उमाकुण्डबाट सुरु भई दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वरबाट मन्दिर प्रवेश, भुवनेश्वरीबाट सुरु भई शंकराचार्य मठ हुँदै मन्दिर पश्चिमतर्फको सानो ढोकाबाट मन्दिर प्रवेश, गौशालाबाट सुरुभई वनकाली, राजेश्वरी हुँदै मन्दिर प्रवेश र सःशुल्क टिकटका लागि टिकट लिई कोषको कार्यालयबाट सीधै मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
शिवपुराणमा उल्लेख भएअनुसार पार्वती बाल्यकालदेखि नै महादेवप्रति भक्तिभाव राख्थिन् । पार्वतीको कठोर निराहार व्रतका प्रभावले महादेव पति पाउन सफल भएको धर्मग्रन्थमा उल्लेख छ । सखीले पार्वतीलाई हरित गरेर लुकाउँदा व्रत बसेकाले त्यसैको नामबाट यस व्रतको नाम ‘हरितालिका’ रहन गएको विश्वास छ ।