यु–१६ च्याम्पियनसिपको छनोट चरण आजबाट सुरु हुँदै

भदौ ३० , काठमाडौं – एएफसी यु – १६ च्याम्पियनसिपको छनोट चरण आजबाट किर्गिस्तानमा सुरु हुँदँछ । जोर्डनसँग खेल्दै नेपाली युवा टोलीले आज छनोट चरण सुरु गर्दैछ । दुई साताअघि साफ यु–१९ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता पाएको थियो । युवा टोलीले भारतलाई हराउँदै २२ वर्षयताको उपाधि खडेरी तोड्न सफल भएको थियो ।
किर्गिस्तान जानुपूर्व यु–१६ टोलीले ए डिभिजनको टोली मनाङ मर्स्याङ्दी र यु–१९ टोलीसँग अभ्यास खेल खेलेको थियो । टोलीले छनोटअघि बंगलादेशमा भएको साफ यु–१६ प्रतियोगिताको अनुभव बटुलेको छ ।
समूह ’बी’ को छनोटअन्तर्गत नेपालले आगामी शुक्रबार किर्गिस्तान र आइतबार ओमानसँग खेल्नेछ । भारतमा हुने फाइनल चरणका लागि एसियाली फुटबल महासंघले ४५ टोलीलाई ११ समूहमा विभाजन गरेर छनोट प्रतियोगिता गरिरहेको छ ।
छनोट प्रतियोगिताबाट १६ टिम फाइनल चरणलाई छानिनेछन् । भारतमा हुने प्रतियोगितालाई सन् २०१७ को फिफा यु–१७ विश्वकप छनोटका रूपमा पनि लिइएको छ । प्रतियोगिताका उत्कृष्ट चार टोली विश्व कपका लागि एसियाबाट छनोट हुनेछन् ।