दंगाग्रस्त क्षेत्रमा शुक्रबारसम्म शैक्षिक संस्था समेत बन्द

भाद्र ८, दाङ – दाङका विभिन्न भागलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि शुक्रबारसम्म शैक्षिक संस्थाहरु समेत बन्द हुने भएका छन् । विद्यार्थी त्रासमा हुने र विभिन्न समूहको घुसपैठ हुनसक्ने कुरालाई मध्यनजर गर्दै शुक्रबारसम्म दंगाग्रस्त क्षेत्रका शैक्षिक संस्थाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले बताएका छन् ।

शिक्षा कार्यालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) सँग छलफल गर्दा विद्यालय सञ्चालन गर्दा बालबालिकामा त्रास हुने भएकाले बन्द गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

आन्दोलनरत थरुहट संघर्ष समितिले साउन २७ देखि बन्द रहेका बिद्यालय आजदेखि खुल्न दिने बताएको थियो । लामो समयपछि खुल्न थालेका बिद्यालय दंगाग्रस्त क्षेत्र घोषणापछि फेरी बन्द भएका हुन् ।

दंगाग्रस्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बजार र राजमार्गमा गस्ति सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताएका छन् ।

प्रहरीले दंगाग्रस्त क्षेत्र घोषणाको बारेमा आज बिहानैदेखि बजारमा माइकिङ गरिरहेको छ । दंगाग्रस्त क्षेत्र घोषणापछि आन्दोलनकारी सडकमा देखिएका छैनन् । बिस्तारै बजारको चहलपहल बढिरहेको छ । राजमार्गमा प्रहरीले स्कटिङ गरेर लामो रुटका गाडीहरु सञ्चालन गरिरहेको छ । अहिले जिल्लाभित्र पनि यातायातका साधनहरु सञ्चालन हुन थालेका छन् ।

कैलालीमा प्रहरीको ज्यान जानेगरी हिंसा भड्किएपछि हिजो बेलुका बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका मुख्य शहरी तथा राजमार्ग क्षेत्रमा ५ जना वा सोभन्दा बढी जम्मा हुन निषेध गरेको हो ।

सोमबार राति ८ बजेदेखि साउन २२ गतेसम्म दंगाग्रस्त घोषणा लागु हुने प्रजिअ पौड्यालले बताए । दंगाग्रस्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर जस्ता प्रचार सामग्री लेख्न वा टाँस्न निषेध गरिएको छ ।

लुटपाट, घर, पसलमा आगो लगाउने, सार्वजनिक सम्पत्ती तोडफोड गर्ने जस्ता कुनै किसिमका हिंसात्मक या विध्वंसात्मक कार्य गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हान्न सक्ने अधिकार दिइएको प्रजिअ पौड्यालले बताए

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै थोरै संख्यामा सुरक्षाकर्मी रहेका प्रहरी बिटहरुमा दर्जन बढी सुरक्षाकर्मी राखिएको छ । थोरै संख्यामा सुरक्षाकर्मी हिड्न र बिटहरुमा बस्न दिइएको छैन ।

जिल्ला सदरमुकाम घोराहीका साथै लक्ष्मीपुर र रामपुर गाविस, तुलसीपुर नगरपालिका र लमही नगरपालिकामा दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । घोराही-तुलसीपुर सडकखण्डको गुज्रे खोलादेखि ग्वार खोलासम्मको सडकदेखि १/१ किलोमिटरभित्र पनि दंगाग्रस्त घोषणा गरिएको छ ।

पूर्व-पश्चिम राजमार्गको अमिलियादेखि धानखोलासम्म सडकको दुवैतर्फ १/१ किलोमिटरभित्र पनि घोषणा गरिएको छ । गढवा बजारको मूल चोकलाई आधार मानी त्यसको १/१ किलोमिटर वरपरसम्मको सम्पूर्ण क्षेत्रमा पनि दंगाग्रस्त घोषणा गरिएको प्रजिअ पौड्यालले बताए ।