हिंसा रोक्न सबै पक्षलाई भारतीय प्रधानमन्त्रीको आग्रह

भाद्र ८, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी सुशील कोइरालालाई टेलिफोन गरि सोमवार कैलालीमा भएको हिंसात्मक झडप र जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार मोदी र कोइरालाबीच भएको टेलिफोन कुराकानीका क्रममा मोदीले नेपालमा शान्ति र कानुन शासन बहाली हुने अपेक्षा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले हालै नेपालमा गएको विनाशकारी भूकम्पका सन्दर्भमा भएको राजनीतिक र सामाजिक एकता अझ बलियो हुने विश्वास समेत व्यक्त गरेको मन्त्रालयले जनाएको छ । मोदीले नेपाली जनता, नेपाल सरकार र सबै राजनीतिक दललाई हिंसा रोक्न र सामाजिक सद्भाव कायम राख्न आग्रह समेत गरेका छन् ।
उनले राजनीतिक नेतृत्व्ले वार्ताबाट सबै पक्षलाई समेट्दै संविधान जारी गर्ने विश्वास पनि व्यक्त गरेका छन् । मोदीले छिमेकी हुनुको नाताले नेपालको सुरक्षामा आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको सन्देश समेत कोइरालालाई दिएका छन् ।
भारतीय प्रधानमन्त्रीले सम्बृद्ध,शान्त र समुन्नत नेपाल भारतको चाहना भएको बताएका थिए । कोइरालाले मोदीको चासो प्रति धन्यवाद दिदै हालैको भूकम्पका बेला भारतको सहयोग स्मरण गरेका छन् ।