पूर्वी पहाडी क्षेत्रमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

भदौ १, काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले मनसुन देशभर सक्रिय भएका कारण आज अपराह्नपछि पूर्वी पहाडी क्षेत्रमा भारी वर्षा हुने जनाएको छ । भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी आउने अनुमानगर्दै सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

न्यूनचापीय रेखा र न्यूनचापीय प्रणाली एकैसाथ सक्रिय भएका कारण भोलिसम्म भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद सुवास रिमालले आज दिउँसो सुरु भएको वर्षा भोलि बिहानसम्म निरन्तर हुन सक्ने जानकारी दिनुभयो ।

पूर्वि नेपालका नदीका तटमा बसोबास गर्नेहरू सचेत हुनुपर्ने उहाँको भनाइ छ । मौसमविद् रिमालका अनुसार पूर्वका मेची, कोसी, कमला लगायत ठूला नदी र तिनका शाखा नदीमा पानीको सतह बढ्न सक्छ ।