विवादित विषयमा सहमतिको प्रयासरत दलहरुले आज पनि छुट्टाछुट्टै छलफल गर्ने

भदौ १, काठमाडौँ – विवादित विषयमा सहमती निकाल्न दलहरुले विहानैबाट आज पनि छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । संविधानमा सीमांकन, धर्म लगायतका विषयमा कस्तो प्रावधान राख्ने भन्ने विषयमा दलहरुले सिहंदरबारमा छलफल जारी राखेका छन् ।

शीर्ष नेता सम्मिलित विशेष समितिको बैठकमा कार्यदलमा भएको छलफल र निष्कर्षका आधारमा सहमतिको प्रयास गरिने काङ्ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार दलहरुबीच सीमांकनको विरोधमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न विभिन्न विकल्पमा कुराकानी भइरहेको छ । प्रदेशको सीमांकन सच्याउन तथा धर्म निरपेक्षता लगायतका विषयमा शीर्ष नेताहरुले टुंग्याउन नसकेपछि मस्यौदा समितिले संविधानको विधेयक बनाउन सकेको छैन ।

सीमांकनबाट असन्तुष्ट समूह तथा व्यक्तिहरुसँग पनि छलफल गर्ने निष्कर्षमा दलहरु पुगेका छन् । असन्तुष्ट मधेसवादी दलसँग छलफल गरेर टुंगोमा पुग्नुपर्ने भएकाले विधेयक बनाउन अझै दुई तीन दिन लाग्न सक्ने काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो ।