विवादित विषय आजै टुंग्याइने शीर्ष तहको तयारी, सीमांकनको नयाँ प्रस्तावमा छलफल

साउन ३२, काठमाडौँ – संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदामा प्राप्त जनताका सुझावका मस्यौदा परिमार्जन गर्न दिएको ५ दिनको समय आज सकिंदैछ । सीमाकंन पुनरावलोकनसहितका विषय टुंग्याउन विशेष समितिले थप समय लिंदा आज पनि विधेयक निर्माणको काम सकिने नसकिने अन्यौल नै छ । हिजोदेखि सीमांकनको बारेमा ५ विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्ने नयाँ प्रस्ताव आएकाले त्यसमा पनि छलफल अघि बढाउने दलहरुको तयारी रहेको एक नेताले जानकारी दिए ।

छलफल र सहमतिका लागि शीर्ष नेता सम्मिलित विशेष समितिले आज पनि बिहानैदेखि विवादित विषयमा छलफल गर्दैछन् भने कार्यदलले पनि अधिकांश विषयको मस्यौदा विधेयक तयार गरिसकेको र विवादित कुरा मिल्ने बित्तिकै त्यसलाई राखेर मस्यौदा पुर्ण हुने कार्यदलका सदस्य रमेश लेखकले बताउनुभयो । हिजो पनि विशेष समितिले साँझैसम्म छलफल गरिएको र आज पनि टुंगोमा पुग्न सकिने नेताहरुको भनाइ छ ।

हिजोसम्मको छलफलबाट संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिको व्यवस्था संविधानमा नगर्ने तर थे्रस होल्ड राख्ने विषयमा दलहरुले सहमति गरिसकेका छन् । धर्म निरपेक्षता, निर्वाचनको थ्रेस होल्ड र संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिको विषय मिलाउने जिम्मा शीर्ष तहलाई दिइएको थियो ।