भोलिदेखि दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन गर्दै

साउन २९ , काठमाडौं – सरकारले भूकम्प बढी प्रभावित १४ जिल्लामा भोलिदेखि दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन गर्दैछ । वैशाख १२ गतेको भूकम्पमा कारण स्थगित भएको अभियान भोलिदेखि फेरि संचालन गर्न लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले दादुरासँगै खतराको रुपमा देखा परेको रुबेलाको रोकथामका लागि दादुरा–रुबेला खोप दिइने जानकारी दिनुभयो । उहाँका अनुसार पहिले यसका विरामी धेरै भएपनि केहि समय घटेका तर खोप दिन छुटेपछि फेरि बढेकाले अभियान चलाउन लागिएको हो ।
पहिलो चरणमा भोलिदेखि तीन दिन र दोस्रो चरणमा भदौ १४ देखि १९ गतेसम्म खोप सेवा सञ्चालन गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउनुभयो । अभियानको क्रममा पाँच वर्षसम्मका बालबालिकाका लागि दादुरा–रुबेला खोप लगाउने महाशाखाको योजना छ ।
दादुरा रोकथामका लागि लगाइएको खोपका कारण बालमृत्युदर सङ्ख्या २५ प्रतिशत न्यून भएको तथ्याङ्कले देखाएको छ ।