संविधानमा प्रहरीको माग पूरा भएन, सशस्त्रमा नेपाल थपियो

साउन २४ , काठमाडौं –  सशस्त्र प्रहरी बलको नाममा नेपाल थपिने भएको छ । तर, नेपाल प्रहरीको माग अनुसार संविधानमा सशस्त्र प्रहरीको नामबाट ‘प्रहरी’ शब्द भने नहट्ने भएको छ ।प्रमुख दलहरुबीच शनिबार राति भएको सहमतिअनुसार संविधानमा अब सशस्त्र प्रहरीको नाम ‘सशस्त्र प्रहरी बल, नेपाल’ रहने भएको छ ।

नेपाल प्रहरीले सशस्त्रको नामबाट प्रहरी हटाउन लबिङ गरेपछि चार दलीय कार्यदलले सशस्त्र सुरक्षा बल प्रस्ताव गरेको थियो । लगत्तै सशस्त्र प्रहरीले आफ्नो नामबाट प्रहरी शब्द नहटाउन लबिङ गरेको थियो ।
चार दलबीच शनिबार मध्यरातमा भएको सहमतिमा सशस्त्र प्रहरी बलको नाममा नेपाल थपेर ‘सशस्त्र प्रहरी बल, नेपाल’ बनाउने सहमति भएको सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।
उता नेपाली सेनाले गरेको माग चाँहि पूरा हुने भएको छ । सेनाले दिएको सुझावमा सेनालाई लोकतन्त्रप्रति उत्तरदायी हुने प्रावधानको साटो संविधानप्रति उत्तरदायी हुने प्रावधान राख्न माग गरिएको थियो ।