पत्रकारको मासिक तलब न्युनतम १९ हजार ५ सय सिफारिस

साउन १८, काठमाडौँ – न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारका लागि न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ सिफारिस गरेको छ। अन्य कर्मचारी र कामदारका हकमा भने समितिले न्यूनतम १४ हजार ४ सय रुपैयाँ निर्धारण गर्न सिफारिस गरेको छ। यस्तै, सञ्चार प्रतिष्ठानका पत्रकारका लागि मासिक १४ हजार १ सय र त्यस्ता प्रतिष्ठानका कर्मचारी तथा कामदारको हकमा १२ हजार ५ सय न्यूनतम पारिश्रमिक सिफारिस गरिएको छ। स्ट्रिन्जरको हकमा भने साविकको दरमा ५० प्रतिशत वृद्धिको सिफारिस गरिएको छ। सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाललाई भेटेर समितिले पत्रकार, कर्मचारी र कामदारको लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिकलाई लागू गर्न अनुरोध गर्‍यो।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष पोषण केसीको नेतृत्वमा गएको समितिका पदाधिकारीहरुले मन्त्री डा रिजाललाई भेटेर यस्तो अनुरोध गरेका हुन्। सो अवसरमा मन्त्री डा रिजालले समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिकसम्बन्धी सुझावलाई लागू गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए। समितिबाट सिफारिस भएका न्यूनतम पारिश्रमिक लागू गर्न सबै सञ्चार माध्यम र सरोकारवाला सबैसँग छलफल कार्य गर्न निर्देशन दिँदै उनले भने, “यसमा मन्त्रालयको पूर्ण सहयोग हुन्छ।” नवनियुक्त अध्यक्ष केसीले समितिको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए। सो अवसरमा सञ्चार मन्त्रालयका सहसचिव एवम् समितिका सदस्य कविराज खनाल, सूचना विभागका महानिर्देशक तथा समितिका सदस्य–सचिव लक्ष्मीविलास कोइराला, समितिका सदस्यहरु निर्मला आचार्य, निमबहादुर बुढाथोकी, इफ्तखार हसन, खड्कबहादुर विष्ट र लीलाबल्लभ घिमिरे सहभागी थिए। रासस