एमालेले ममाथि शंका गर्‍यो : प्रधानमन्त्री

साउन १८, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले सत्तासाझेदार दल एमालेले आफूमाथि शंका गरेको आरोप लगाएका छन् । कोइरालाले आइतबार उद्यमी–व्यवसायीसँगको भेटमा संविधान जारी भएपछि आफू राजीनामा गर्न तयार भए पनि एमालेले शंका गरेको बताएका हुन् ।

‘संविधान आओस् म छोडिदिन्छु । यसमा शंकै नगर्नूस् । तर, यसका लागि एउटा डेमोक्रेटिक संविधान आउनुपर्‍यो, जस्तो–तस्तो होइन,’ एमालेले आफूलाई अनावश्यक शंका गरेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भने । उनले संघीयतामा प्रदेशको सीमा टुंग्याएर मात्र संविधान जारी गर्नुपर्ने पनि बताए ।
‘संघीयताको रेखांकन गरेर जानुपर्छ,’ उनले भने, ‘त्यसपछि समाजमा हार्मोनी आउँछ ।’ संविधानमा बहुलवाद राख्नुपर्ने पनि कोइरालाले बताएका छन् । ‘फरक–फरक पार्टीका आ–आफ्नै आस्था र विश्वास छन्, मागहरू छन्, आकांक्षाहरू छन् ।
सबै दल डेमोक्रेटिक अम्रेलामा आएपछि त्यसका मूल्य–मान्यतालाई पालना गर्नुपर्छ,’ कोइरालाले भने, ‘त्यसैले मैले बहुलवादको कुरा उठाएँ । बहुलवाद त डेमोक्रेसीको इसेन्स हो ।’ कोइरालाले संविधान निर्माणमा सबैलाई समेटेर लैजाने प्रयास भएको बताए ।