व्यवस्थापिका संसदको बैठक आज बस्दै

साउन १४, काठमाण्डौ-व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमा विनियोजित बजेटका विषयमा कार्यतालिका तोकिने जनाईएको छ । सदस्य एउटै भएपनि संविधान र व्यवस्थापिका संसदले अहिलेसम्म फरक विषयमा छलफल गर्दै आए पनि आजको संसद बैठकमा संविधानसभाका विषय पनि प्रवेश पाउने भएको छ । संविधानको मस्यौदा सुझाव संकलनका क्रममा मधेस जिल्लामा भएको अवरोध, प्रहरीको बल प्रयोग बलगायतका विषयमा केन्द्रित हुनेछ । मधेस केन्द्रित दलहरुले मधेसका जिल्लामा मस्यौदामा सुझाव संकलनका क्रममा आफ्ना कार्यकर्तामाथि बल प्रयोग भएको भन्दै संसदमा कुरा राख्ने तयारी गरेका छन् । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आजको संसद बैठक बजेट भन्दा पनि संविधानमा केन्द्रित हुने बताउँनु भएको छ ।