नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज स्कटल्याण्डसँग खेल्दै

साउन १३, काठमाडौँ – नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो साढे तीन बजेपछि स्कटल्याण्डको आयरमा हुनेछ । आयरल्याण्ड र स्कटल्याण्डमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टोली यो खेलमा राम्रो प्रदर्शन गर्दै आफ्नो साख जोगाउने तयारीमा छ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटमा अमेरिकालाई ६ विकेटले हराउनु बाहेक नेपालले राम्रो प्रदर्शन गर्न सकेन ।

१४ देश सहभागी प्रतियोगितामा १३ औं भएको नेपालका लागि याो खेल त्यती सहज छैन । तर यो खेल जित्दै निराशाजनक बनेको युरोप भ्रमणलाई केही भएपनि उपलब्धी मुलक बनाउने नेपाली टिमका लागि अन्तिम अवसर हो । गएको पाँच हप्ता भन्दा धेरै समयदेखि युरोपमा रहेको नेपाली टोलीले ट्वेन्टी–ट्वेन्टी विश्वकप अघि नेदरल्याण्डसँग भएको चार ट्वेन्टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय शृंखला ३–१ ले गुमाएको थियो ।