विश्वकप टि ट्वान्टी छनोट प्रतियोगितमा नेपाल आज हङकङसँग खेल्दै

असार ३०, काठमाडौं –   ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपाल आज हङकङसँग खेल्दैछ । नेपालले आफ्नो चौथो खेलमा हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल आयरल्याण्डको बेलफास्टमा नेपाली समय अनुसार बेलुका सात बजेपछि सुरु हुनेछ ।
तीन खेलबाट मात्रै तीन अंक जोडेर समुह बीको चौथो स्थानमा रहेको नेपाल हङकङमाथि जित निकाल्दै अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने लक्ष्यसहित मैदान उत्रने छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबियासँगको दोस्रो खेल वर्षाका कारण प्रभावित भएको थियो । वर्षाका कारण रद्द भएको खेलमा नेपाल र नामिबियाले एक एक अंक बाँडेका थिए । यस्तै तेस्रो खेलमा अयोजक आयरल्याण्डसँग नेपाल ८ विकेटले पराजित भएको थियो ।
आयरल्याण्ड तीन खेलबाट ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल बुधबारको हङकङ विरुद्धको खेलमा गर या मरको अवस्थामा छ । यो खेल जित्न सके विश्वकपका लागि छनौट हुने सहज बाटो नेपालका लागि जिवितै रहने छ । पराजित भएमा विश्वकप खेल्ने नेपाली टिमको सपना थप पछिका लागि धकेलिने छ ।
हङकङ नेपालका लागि चिरपरिचित प्रतिद्धन्द्धी हो । हङकङमाथि नेपालको विगत केही राम्रो रहेपनि बुधबारको खेलमा जित निकाल्न संघर्षनै गर्नु पर्ने देखिन्छ । ट्वेन्टी–ट्वेन्टी छनौट प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलको हङकङ एक अंक सहित तालिकाको छैटौं स्थानमा छ ।