प्रचण्डले आजदेखि दिल्लीमा भेटवार्ता थाल्ने

असार ३०, काठमाडौं –  भारत भ्रमणमा जानु भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भेटघाट सुरु गर्नेहुने भएको छ । भारत सरकारको निम्तोमा दिल्ली जानु भएका प्रचण्डले त्यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आज उहाँले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुषमा स्वराज र विदेश सचिव जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको समय अझै तय भएको छैन । तर मोदीसँग पनि उहाँको भेटवार्ता हुने उहाँको निजी सचिवालयले जनाएको छ । दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले भारत भ्रमणमा आफूले पाँचवटा एजेन्डा उठाउने जानकारी गराउनु भएको थियो । प्रमुख चार राजनीतिक दल वीच भएको १६ बुँदे सहमतिका आधारमा अघि बढेको संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउन भारतीय सहयोग जुटाउने एजेन्डा पहिलो नम्बरमा छ । त्यसैगरी भारत,चीन र नेपालका वीचमा त्रिदेशीय रणनीतिक साझेदारी विकास गर्न ठोस र मूर्त छलफल अघि बढाउने, भारत र चीन वीच भएको सम्झौतामा उल्लेख गरिएको लिपुलेकसहित दुई मुलुक वीचका सीमा विवाद सुल्झाउन समझदारी निर्माण गर्ने, भुकम्पछिको पुननिर्माणमा गुजरातको आर्थिक प्रगतिको मोडलको प्रत्यक्ष अध्ययन अवलोकन गर्ने र एमाओवादी र भारत वीचको सम्बन्धलाई समझदारीपूर्ण बनाउने एजेन्डालाई प्राथमिकतामा राखेका उहाँले बताउनुभयो ।