अन्तरिक्ष यान सौर्य मण्डलमा सबैभन्दा टाढाको यम ग्रहमा

असार ३०, काठमाडौं –  अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यान सौर्य मण्डलमा सबैभन्दा टाढाको यम ग्रहमा पुगेको छ । नासाको न्यु होराइजन अन्तरिक्ष यानले मंगलबार अबेर यम ग्रहको अवलोकन गरेको हो ।
नासाले न्यु होराइजनले लिएको यम ग्रहको तस्बिर पनि सार्वजनिक गरेको छ । अन्तरिक्ष यान न्यु होराइजन अहिले पृथ्वीको सम्पर्कमा नरहेको तर यम ग्रहको अध्ययन भने गरिरहेको वैज्ञानिकहरुले बताएका छन् । अन्तरिक्ष यानको मद्धतले आफूहरुले रंगिन डाटा प्राप्त गरिसकेको र यम ग्रहका थप नयाँ तस्बिरहरु सार्वजनिक गर्ने तयारी भैरहेको नासाका वैज्ञानिकले बताएका छन् । नयाँ तस्बिरहरु आज सार्वजनिक गर्ने र ती तस्बिरहरु यसअघि सार्वजनिक गरिएका भन्दा १० गुणा उत्कृष्ट हुने जनाइएको छ । न्यु होराइजनले यम ग्रहको पछिल्लो अध्ययन गर्नु अन्तरिक्ष अनुसन्धानको इतिहासमा एक प्रमुख उपलब्धी भएको वैज्ञानिकहरुले बताएका छन् ।