नयाँ संविधान सबैको साझा दस्तावेज हुने : मन्त्री डा खड्का

असार १८, काठमाडौं – सहरी विकास मन्त्री डा नारायण खड्काले अब जारी हुने संविधान सबैको साझा दस्तावेज हुने विश्वास व्यक्त गर्नुुभएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाको ९२औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले सबै जातजाति, वर्ग, क्षेत्र, धर्म, लिङ्ग, समुदायको अपनत्व हुने गरी नयाँ संविधानको मस्यौदा तयार गरिएको बताउनुभयो । उहाँले सो मस्यौदा छलफलकै चरणमा रहेकाले छुटेका महत्वपूर्ण विषय राख्न सकिने जानकारी गराउनुभयो ।
पार्टी केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खड्काले स्व गिरिजाबाबुले सदैव प्रेस स्वतन्त्रताको पक्षमा वकालत गरेको अवगत गराउँदै नयाँ संविधानले पनि पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गर्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले २००७ सालको क्रान्तिदेखि अहिलेसम्म मुलुक कुन राजनीतिक व्यवस्था उपयुक्त भनेर सधैँ अल्झेको बताउँदै अब बन्ने संविधानले लोकतान्त्रिक शासन प्रणालीको सुनिश्चित गर्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले नेपालमा सूचना हकसम्बन्धी कानुन कार्यान्वयनमा स्व कोइरालाले गरेको योगदाको प्रशंसा गर्दै नयाँ संविधान प्रेसमैत्री हुनुपर्ने बताउनुभयो ।
वरिष्ठ पत्रकार हरिहर विरहीले सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन भूमिगत पार्टी माओवादीलाई लोकतान्त्रिक प्रक्रियामा ल्याएर स्व गिरिजाबाबुले मुलुक र जनताप्रति ठूलो गुन लगाएको बताउनुभयो ।
नेपाल टे«ड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले काँग्रेसले अन्य दलसँगको सहयात्रामा आफ्ना अडानहरु बिर्सेको बताउँदै संविधानको मस्यौदा मजदुरमैत्री नभएको गुनासो गर्नुभयो ।
अध्यक्ष बद्री सिग्देलले नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको प्रावधान रहनुपर्ने बताउँदै श्रमजीवी पत्रकारका हकहितमा रहेका कानुन कडाइका साथ लागू गर्न सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्षद्वय मुरारीकुमार शर्मा र समीरजङ्ग शाह, युनियनका सल्लाहकार तथा पूर्व महासचिव शिव लम्साल, महासङ्घका पूर्व सचिव जगत नेपाल, युनियनका उपाध्यक्षद्वय ईश्वरी ओझा र बाला अधिकारी, युनियनका महासचिव अजयबाबु शिवाकोटी, महासङ्घका केन्द्रीय सदस्य प्रकाश तिमिल्सिनाले गिरिजाप्रसादले लोकतन्त्र र प्रेस स्वतन्त्रताका खातिर गरेका योगदानको चर्चा गर्नुभएको थियो । रासस