महासंघ एक भएर अगाडि बढेको छ : मुरारका

असार १८, काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न विशेष साधारणसभाले मुरारकालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

महासंघका रिक्त अध्यक्ष पदका लागि भाष्करराज राजकर्णिकार र भवानी राणाले दिएको उम्मेदवारी फिर्ता लिएपछि मुरारकालाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।निर्वाचित भएपछि अध्यक्ष मुरारकाले ‘महासंघ एक भएर अगाडि बढेको’ बताए । उनले ‘मुलुकको हालको विषम परिस्थितिमा व्यवसायी एक भएर आर्थिक विकासको एजेन्डालाई प्रभावकारी रुपमा उठाउने’ प्रतिबद्धता व्यक्त गरे ।

यसअघि, महासंघको विशेष साधारणसभाको उद्घाटन गर्दै उपप्रधान तथा स्थानीय विकास विकासमन्त्री प्रकाशमान सिंहले ‘भूकम्पपछिको पुनःनिर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने’ बताए ।उनले अहिले निर्वाचित सरकार भएकै कारण दाताले पुनःनिर्माणका लागि धेरै सहयोग गरेको दाबी पनि गरे ।

महासंघले सार्वजनिक निजी साझेदारीको मोडलमा पुनःनिर्माणको काम अगाडि बढाउन आग्रह पनि गरेको छ । दलहरुबीच भएको १६ बुँदे सहमति सकारात्मक रहेको महासंघले जनाएको छ ।