अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति निर्वाचन रोचक हुने देखिँदै

असार १, काठमाडौँ – अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति निर्वाचन रोचक हुने देखिँदैछ । पूर्व राष्ट्रपति जर्ज बुशका छोरा र भाइ जेब बुशले पनि आफ्नो पार्टी रिपब्लिकनका तर्फबाट उम्मेद्वारी पाउन अभियान थालेपछि पार्टी निर्वाचन अभियान रोचक हुँदै गएको हो ।

यसअघि डेमोक्रेटिकका तर्फबाट पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी एवं पूर्व विदेश मन्त्री हिलरी क्लिन्टनपनि पार्टीका तर्फबाट उम्मेद्वारी पाउन मैदानमा ओर्लिसकेकी छिन् ।

यी दुबैले पार्टी उम्मेद्वारी हात पार्न सके मूख्य निर्वाचनमा जीतका लागि दुई परिवारबीचको भिडन्त रोचक हुनेछ । फ्लोरिडाका पूर्व गभर्नर जेब बुशले अमेरिकाको अफ्ठ्यारो भगाउन आफू सक्षम रहेको भन्दै निर्वाचन अभियान थालेका हुन ।

६२ वर्षिय जेबले भिडियोमार्फत् एक महान् देश आफ्नो महानतम् शताब्दीको द्वारमा रहेकाले म नेतृत्वका लागि तयार छु, भनेका छन् ।

यद्यपी, शुरुवाती रुझान भने बुशभन्दा अरु उम्मेदवारतिर बढि देखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । जेबका पिता जर्ज एच डब्ल्यू बुश अमेरिकाका ४१ औं तथा दाई जर्ज बुश ४३ औं राष्ट्रपति बनेका थिए ।

पिता बुशले सन् १९८९ देखि १९९३ सम्म चार वर्ष तथा दाई बुशले सन् २००१ देखि २००९ सम्म आठ वर्ष अमेरिकाको राष्ट्रपति पद सम्हालेका थिए ।