पुबुदु दासानायकेको एक वर्षे करार अवधि आजबाट सकिदै

असार १, काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको एक वर्षे करार अवधि आजबाट सकिंदैछ ।

तत्कालिन क्रिकेट संघले करार सम्झौता नविकरण नगरेपछि क्यानाडा फर्कीएका पुबुदुलाई नेपाल सरकारले सोझै एक वर्षे करार दिएर बोलाएको थियो । त्यतिवेला युवा तथा खेलकुद मन्त्रालयले दिएको सम्झौतापत्रमा पुबुदको करार अवधी जुन १५ सम्मको रहने उल्लेख छ ।
सरकारसँगको सम्झौता अनुसार पुबुदुले मासिक १० हजार डलर पारिश्रमिक तथा नेपाल बसाइको खर्चबापत थप २ लाख रुपैंया पाउदै आएका छन् । पुबुदुको करार नविकरण सम्बन्धमा नेपाल सरकारले केही बोलेको छैन ।
विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट छनौट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीसँगै हाल पुबुद भारतको हिमाञ्चल प्रदेशमा रहेका छन् । करार अवधि सकिएपनि आसन्न विश्वकप छनौट प्रतियोगितामा नेपाली टोलीको नेतृत्व पुबुदुले नैं गर्नेछन् ।
त्यसपछि नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका एक दिवसिय खेलहरु खेल्नेछ । उता नेपाल क्रिकेट संघ क्यानले यही असार ४ गते साधारण सभा गर्ने तयारी गरेको छ ।
आन्तरिक विवादले लामो समयदेखि अस्थिर क्रिकेट संघका केही महत्वपुर्ण प्रशासनिक निर्णय गराउन साधारण सभा गर्न लागिएको बुझिएको छ ।