टि–२० विश्वकप छनोट खेल्नका लागि राष्ट्रिय टोलीको घोषणा

जेष्ठ २८,कठमाण्डौ- यही जुलाई ३ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसिसी विश्व टि–२० छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले चार वैकल्पिकसहित १९ खेलाडीको नामावली विज्ञप्तिमार्फत बुधबार सार्वजनिक गरेको छ जसमा कप्तान पारस खड्कालाई कप्तानीको जिम्मेवारी दिइएको छ भने उपकप्तान ज्ञानेन्द्र मल्ल हुनुहुन्छ ।
त्यस्तै, अन्य खेलाडीमा शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, अनिल मण्डल, सुवास खकुरेल तथा विनोद भण्डारी छन् । त्यसैगरी, प्रदीप ऐरी, सागर पुन, जितेन्द्रकुमार मुखिया, सोमपाल कामी, राजेश पुलामी मगर, करण केसी र सिद्धान्त लोहनीले पनि टोलीमा स्थान बनाएका छन् ।
मेहबुब आलम, पृथु बास्कोटा, भुवन कार्की तथा अविनाश कर्णले भने वैकल्पिक खेलाडीमा चित्त बुझाएका छन् ।
युरोप जाने टोलीको नेतृत्व क्यानकै कार्यबाहक अध्यक्ष दीपक कोइरालाले गर्नु हुनेछ भने व्यवस्थापकको जिम्मेवारी छुम्बी लामालाई तोकिएको छ ।
प्रशिक्षकमा श्रीलङ्काली मूलका क्यानाडेली नागरिक पुबुदु दसानायके, बलिङ तथा ब्याटिङ प्रशिक्षकमा क्रमशः विनोदकुमार दास तथा भारतीय नागरिक मोन्टी देशाई रहनुभएको छ । फिजियोमा भारतकै ऐजाज असई हुनुहुन्छ भने प्राविधिक विश्लेषकमा रमण सिवाकोटीलाई जिम्मेवारी दिइएको क्यानको विज्ञप्तिमा उल्लेख छ ।