शोक प्रस्ताव पारित गर्दै संविधानसभाको बैठक एक साताका लागि स्थगित

चैत्र २३,काठमाडौं- झन्डै दुई महिनाको स्थगनपछि सोमबार बसेको संविधानसभा बैठक शोक प्रस्ताव पारित गरेर एक साताका लागि स्थगित भएको छ ।राज्य व्यवस्था समितिका पूर्वसभापतिसमेत रहेका रामनाथ ढकाल र पूर्वगृह राज्यमन्त्री महेन्द्र यादवको निधनमा अलग–अलग शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बैठकको सुरुमै प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वगृह राज्यमन्त्री यादव र पूर्वसभासद ढकालको निधनमा शोक प्रस्ताव पढेर सुनाएका थिए ।बैठकमा शोक प्रस्तावको मात्र कार्यसूची रहेकाले विपक्षी मोर्चाका विजय गच्छदार, गिरिराजमणि पोखरेललगायत केही सभासद पनि सहभागी थिए ।

२०५१ सालमा गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका र २०६४ मा रुपन्देही–५ बाट संविधानसभा सदस्य निर्वाचित भएका ढकालको आइतबार निधन भएको थियो ।त्यस्तै, २०४८ र २०५१ मा महोत्तरी–१ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका यादवको चैत्र १७ गते निधन भएको थियो । संविधानसभाको अर्को बैठक चैत्र ३० गतेका लागि बोलाइएको छ ।