भारतका विदेश सचिव दुईदिने औपचारिक भ्रमणमा आज राजधानी आउँदै

चैत्र १९,काठमाण्डौ—भारतका विदेश सचिव सुब्रमन्यम् जयशंकर नेपालको दुईदिने औपचारिक भ्रमणमा आज राजधानी आउँदै हुनुहुन्छ ।
दुई महिनाअघि विदेश सचिवको कार्यभार सम्हालनु भएका जयशंकरले नेपालका वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल गर्नुहुने भएको छ ।
उहाँले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई दिने भ्रमणका क्रममा उनले नेपाली समकक्षी शङ्करदास वैरागीसँग प्रधिनिधिमण्ड स्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुषमा स्वराजको भ्रमणका बेला भएका द्विपक्षीय सहमति, पारस्परिक लाभका परियोजना कार्यान्वयनमा भएका प्रगतिलगायत विषयबारे प्रतिनिधिमण्डलस्तरीय वार्तामा छलफल हुने बताइएको छ । विदेश सचिवमा नियुक्त भएपछि जयशंकरको यो पहिलो नेपाल भ्रमण हो ।