प्रधानमन्त्रीलाई भेटदै ६ माओवादी घटक

चैत्र १९,काठमाण्डौ- आन्दोलनलाई प्राथमिकता दिएको एमाओवादी नेतृत्वको ६ माओवादी घटकले प्रधानमन्त्री सुशील कोइरालासँग वार्ता गर्ने भएको छ।सशस्त्र द्वन्दकालीन मुद्दाका बारेमा सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै ६ माओवादी घटकले प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रबार भेटेर ज्ञापनपत्र बुझाउने योजना बनाएका छन्।

एमाओवादी केन्द्रीय कार्यालयमा बुधबार बसेको ६ माओवादी घटक दलको बैठकले सर्वोच्च अदालतको फैसलाले विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधान उल्लंघन भएको ठहर गर्दै प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाएर आन्दोलन जारी राख्ने दिने निर्णय गरेको छ।
‘सर्वोच्चले पुनरावलोकन गर्ने वा अन्तरिम संविधान संशोधन गर्ने विक ल्पमाथि छलफल भएको छ’ बैठकमा सहभागी क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले भने। बैठकले चैत २३ गते मुलुकभर जनप्रदर्शन गरेपछि पनि संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।
‘लहरो तान्दा पहरो जाने भयका कारण कांग्रेसभित्रको एउटा समूह, सेना र प्रहरी पनि सर्वोच्चको फैसलाको विपक्षमा देखिएकोले उनीहरूलाई पनि समेटेर आन्दोलन उठाउने छलफल भएको छ’, थापाले भने।
माओवादी आन्दोलनका घटक दलको कार्यगत एकतालाई सुदृढ गर्ने क्रममा उपत्यका र जिल्लामा संयोजन समिति गठन गर्ने निर्णय गरिएको थापाले बताए। बैठक मा माओवादी एकता बलियो नबनाई ३० दलीय गठबन्धन बलियो हुन नसक्ने निष्कर्षमा पुगेको छ।
पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, मात्रिका यादव नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र परी थापा नेतृत्वको नेकपा एकीकृत ६ माओवादी घटक दलभित्र छन्।