एएफसी यु–२३ फुटबल खेलअन्तर्गत पहिलो खेल नेपालले आयोजक इरान संग भिड्ने

चैत ९, काठमाडौँ – एएफसी २३ वर्षमुनि (यु–२३) फुटबल प्रतियोगिताको छनोट खेलअन्तर्गतको पहिलो खेल नेपालले आयोजक इरानको सामना गर्दै मैदानमा उत्रने भएको छ ।इरानको राजधानी तेहरानस्थित अजादी रङ्गशालामा हुने सो प्रतियोगितामा नेपालले भोलि नेपाली समयअनुसार साँझ ६ः१५ बजे निकै बलियो मानिएको प्रतिद्वन्द्वी इरानको सामना गर्नेछ ।

राउण्ड रोबिन लिगको आधारमा हुने उक्त प्रतियोगितामा नेपाललसहित इरान, साउदी अरेबिया, अफगानिस्तान र प्यालेस्टाइन गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।त्यस्तै नेपालले आफनो दोस्रो खेल यही चैत ११ गते अफगानिस्तान, तेस्रो १५ गते साउदी अरब र चौथो तथा अन्तिम खेल १७ गते प्यालेस्टाइनको सामना गर्नेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक ज्याक स्टेफानोस्कीले टोली इरान प्रवेश गर्नुुअघि प्रतियोगितामा नेपालले टोलीले उत्कृष्ट प्रर्दशन गर्र्नेे विश्वास व्यक्त गर्नुभएको थियो ।समूह ‘सी’अन्तर्गत भइरहेको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली एएफसी च्याम्पियनसिपको लागि छनोट हुनेछ भने उपविजेतामध्येबाट उत्कृष्ट घोषित हुने केही टोलीका लागि अघिल्लो चरण प्रवेश सम्भावनाको ढोका खुल्ला हुनेछ ।

विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने १० टोली र उपविजेतामध्ये उत्कृष्ट पाँच टोली अर्को वर्ष कतारमा हुने एएफसी च्याम्पियनसिपको लागि छनोट हुनेछन् ।प्रतियोगितामा नेपाली टोलीको गोलरक्षकमा, विकेश कुथू, एलान न्यौपाने र अमृतकुमार चौधरी छन् भने रक्षकमा दिनेश राजवंशी, कालु थापा राम्जाली, मनबहादुर तामाङ, आदित्य चौधरी, आकाश थापा तथा अनन्त तामाङ छन् ।त्यस्तै गौरव बुढाथोकी, हेमन गुरुङ, हेमन्त थापा मगर, कप्तान जगजीत श्रेष्ठ, जङ्बु पेम्बा शेर्पा, कमल श्रेष्ठ, प्रकाश बुढाथोकी, सुलभ मास्के र विशाल राई मध्यपङ्तिमा तथा अग्रपङ्तिमा विश्वास श्रेष्ठ, रन्जन विष्ट, अन्जन विष्ट, अमर डङ्गोल र विमल घर्तीमगर छन् ।