पाकिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

चैत्र ६,काठमाण्डौ- अष्ट्रेलिया एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । एसियाली प्रतिद्धन्द्धी पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलियाले अब हुने सेमिफाइनलमा अर्को एसियाली प्रतिद्धन्द्धी भारतसँगको भिडन्त पक्का गरेको हो ।

आफ्नै मैदान एड्लेड ओभलमा शुक्रबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा घरेलु टोली अष्ट्रेलिया ६ विकेटले विजयी भयो । पाकिस्तानले दिएको २ सय १४ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा स्टेभेन स्मिथले ६५ रन तथा शेन वाट्सनले अविजित ६४ रन जोडे । यसैगरी, ग्लेन म्याक्सवेलले अविजित ४४ रनको योगदान दिए । बलिङतर्फ पाकिस्तानका वहाब रियाजले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले अन्तिम ओभरमा अल आउट हुनुपूर्व २ सय १३ रन मात्रै जोडेको थियो । पाकिस्तानका ह्यारिस सोहेलले ४१ रन तथा मिसवाह उल हकले ३४ रन जोडे । पाकिस्तानलाई सस्तैमा समेट्न बलिङतर्फ अष्ट्रेलियाका जोस हेजलउड एक्लैले ४ विकेट लिए ।

विश्वकप क्रिकेटमा यसअघिका क्वार्टरफाइनल खेलहरु जित्दै भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन् ।

अन्तिम क्वार्टरफाइनल खेलमा शनिबार आयोजक न्यूजिल्यान्डसँग वेस्ट इन्डिजले खेल्नेछ । समूह ‘ए’मा लिग चरणका सबै ६ खेल जितेको न्यूजिल्यान्ड उत्कृष्ट लयमा छ ।

उता, समूह ‘बी’मा रहेको वेस्ट इन्डिज समूहमा चौथो स्थान हात पार्दै क्वार्टरफाइनलमा पुगेको हो । तर, पनि क्रिस गेल जस्तो विस्फोटक ब्याट्सम्यान रहेको टोली वेस्ट इन्डिजलाई कम आँक्न नमिल्ने क्रिकेट पन्डितहरु बताँउछन् ।