३० गतेसम्म सहमति होला ?

फागुन २७, काठमाडौँ – फागुन २६ गतेसम्म सहमतिको खाका तयार नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेको एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले सहमति प्रयास गर्न भन्दै फागुन ३० गतेसम्म पर्खने निर्णय लिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकयता सहमतिका लागि कुनै वार्ता नभए पनि बैठकले अझै केही समय कुर्ने निर्णय गरेको हो । त्यसो त मोर्चाले डेढ महिनापछि दलहरूबीच औपचारिक बैठक भए पनि सहमति गर्ने दिशामा प्रगति नभएको निष्कर्ष निकालेको छ ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वार्ताबाट समाधान निकाल्न सत्तापक्ष गम्भीर नभए पनि केही दिन पर्खनु उपयुक्त हुने बताउँदै राष्ट्रपतिले तत्काल आन्दोलन घोषणा नगर्न आग्रह गरेको उल्लेख गर्दै दुई तीन पर्खने प्रस्ताव राख्नुभएको थियो ।

बैठकले बलात्कारमा परी निधन भएकी बाराकी छ वर्षीया पूजा साहको घटनामा संलग्न दोषीलाई कडा कारबाही र परिवारजनलाई क्षतिपूर्तिको माग गर्नुका साथै काठमाडौँमा भएको एसिड घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

शनिबारयता प्रधानमन्त्री सुशील कोइराला र विभिन्न दलका नेताबीच एक्लाएक्लै वार्ता भैरहे पनि संवधानका विवादित विषयमा औपचारिक वार्ता हुन सकेको छैन । यसको कारण एमाले अध्उक्ष केपी ओलीको अस्वस्थतालाई लिइएको छ ।

उता ओली भने नेपाली कांग्रेस र एमाओवादीबीचको बढ्दो निकटताले शशंकित भएर वार्तामा नबसेको बताउन थालिएको छ । तैपनि बिहिबार सहमतिकै लागि निर्णायक चरणको वार्ता हुने सम्भावना रहेको नेताहरुले व्यक्त गरिरहेका छन् ।