आर्थिक विकासका लागि जर्मनीले सहयोगका क्षेत्र विस्तार गर्ने

फागुन २७, काठमाडौँ-जर्मनीले नेपालको आर्थिक विकासमा सहयोगका क्षेत्रलाई थप विस्तार गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षप्रदीपजङ्ग पाण्डेसँग मंलबार भएको भेटवार्तामा राजदूत माथियस मायरले  नेपालमा लगानी तथा आर्थिक गतिविधि सञ्चालनका निम्ति उपयुक्त वातावरण बन्दै गएकाले सहयोगका दायरा विस्तार गर्न आफू उत्सुक रहेको उल्लेख गरे ।

राजदूत मायरले दक्ष जनशक्ति उत्पादनका लागि महासङ्घका तर्फबाट उपयुक्त र विश्वासिलो प्रस्ताव प्राप्त भएमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल र जर्मनीबीचको सम्बन्धका साथै द्विपक्षीय व्यापार तथा लगानी विस्तार, पर्यटन तथा प्रविधि आकर्षणलगायत आपसी सहयोग विस्तारबारे जर्मनीको सक्रिय सहयोगको अपेक्षा महासङ्घले गरेको बताउँदै अध्यक्ष पाण्डेले जलविद्युत् विकास, पूर्वाधार निर्माण, व्यावसायिक कृषि, पर्यटन र दक्षजनशक्ति उत्पादनमा जोड दिएका थिए ।