टर्किस विमान दुर्घटनाबाट चार दिनमा करिब ५ अर्ब घाटा

फागुन २५, काठमाडौं – गत बुधबार विहान भएको टर्किस विमान दुर्घटनाको कारण अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसक्दा करिब ५ करोड रुपैयाँ प्रत्यक्ष घाटा भएको छ भने परोक्ष रुपमा करोडौं रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ ।

टर्कीस विमान ल्याण्डिङ्गका क्रममा भएको दुर्घटनाका कारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण हुन नसक्दा प्रत्यक्ष रुपमा विमानस्थलले व्यहोरेको घाटा मात्रै हो यो ।
चार दिनको घाटाको यथार्थ विवरण भने यकिन भई नसकेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्र लाल सुमनले बताए । प्राधिकरणले विमान पार्किङ्ग शूल्क, यात्रु शूल्क लगायतबाट उठाउने राजश्व गुमाएको हो ।
उनले यो घटनाबाट नेपालले पाठ सिक्दै तत्काल अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया थाल्नुपर्नेमा पनि जोड दिए ।
चार दिनपछि अन्तर्राष्ट्रिय विमानस्थल खुल्दा यात्रुको चाप अत्यधिक देखिन्थ्यो भने एयरलायन्स कम्पनीहरुमा टिकट काट्ने र टिकट सार्ने यात्रुहरुको दिनभर लर्को रहेको थियो ।