धादिङमा बिषादी मिसाएको गहुँको रोटी खाँदा एकै परिवारका ५ जनाको मृत्यु

फागुन २५, धादिङ – धादिङको पीडा गाँउ विकास समितिको वडा नं ८ पुकुनमा विष मिसिएको गहुँको रोटी खाँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । अन्य १२ जना गाउँले बिरामी भएका छन् ।मृत्यु हुनेहरुमा ६२ वर्षिय सन्जाबहादुर स्याङतान, बुहारी फुलमाया, सात वर्षीय नातिनी सविता, पाँच वर्षीय नाति रमेश र दुई वर्षिय नाती अनिल स्याङतान रहेका छन् ।

रोटी खाएपछि बिरामी परेका तीन जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो भने अन्यको घरमै मृत्यु भएको हो ।मृतक सन्जाबहादुरको घरमा गहुंको बीउका लागि राखिएको गहुं पिनेर रोटी खांदा सो घटना भएको हो । नबिग्रियोस् भनेर बीउ राखेको भांडामा बिष हालेर राखिन्छ ।यद्यपी विषादी मिसाएको गहुँलाई पानीले पखालेर घट्टमा पिँधेर ल्याएको पिठोको रोटी पकाएर खाएपछि उनीहरुको मृत्यु भएको हो ।

गहुँ पिँधेबापत ज्यालाको रुपमा लिएको पिठोको रोटी खाँदा घट्ट धनी तिलकबहादुर दोङ र उनका परिवारका अन्य ४ जना, उनका दाई रिबहादुर दोङ र ६ छिमेकी पनि बिरामी परेका छन ।बिरामीहरुको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।